Friday, July 11, 2014

Talk with Prof Dr Ram Kumar Ghimire




 
Prof. Dr. Ram Kumar Ghimire
पर्मानेन्ट म्याग्नेटको तुलनामा सुपर कन्डक्टिङ म्याग्नेट तीन चार गुना महँगो पर्छ । मेन्टिनेन्स अफ्ट्यारो छ । बिजुली निरन्तर आवश्यक पर्नेभएकाले म्याग्नेट चाँडै बिग्रनसक्ने संभावना हुन्छ । सुपर कन्डक्टिङ म्याग्नेटबाटएमआरआई गर्दा थोरै समयमा काम गर्न सकिन्छ र यसमा इमेजहरु राम्रो देखिन्छ ।

एम.आर.आई.के हो ?

शरीरका भित्री अंगहरुमा भएका परिवर्तनहरु हेर्ने विभिन्न प्रविधिमध्ये एम.आर.आई.पनि एक हो । यिनै प्रविधिमध्ये सिटीस्क्यान, एक्सरे, अल्ट्रासाउन्ड आदि पर्छन् । एमआरआईमा चुम्बक (म्याग्नेट) र रेडियोतरंग (रेडियोफ्रिक्वेन्सी) को सहयोगबाट शरीरका संरचनाहरुको विभिन्न आयामहरु चित्र निकालिन्छ ।

अरु प्रविधिभन्दा एमआरआई के कुरामा फरक छ ?

यसबाट शरीरभित्र के भइरहेको छ भन्ने कुरा राम्रोसँग तस्विरमा देख्न सकिन्छ । त्यसै ले एमआरआई अरु प्रविधिभन्दा धेरै प्रचलनमा आएको पाइन्छ ।

यसले रोग पहिचान कसरी गर्छ ?

रेडियोलोजिकल प्रविधिहरुमा सामान्य रोगविहीन अवस्थाको संरचना र शरीरक्रिया (एनानोटी र फिजियोलोजी) थाहा पाउनुपर्छ । त्यसपछि एमआरआईलगायत कुनै पनि प्रविधिबाट भित्री भागहरुको जाँचबुझ गर्दा त्यहाँ आएका अन्य परिवर्तनहरु देख्न सकिन्छ । जस्तै—कहिले काँही सामान्य ठाउँमा अंगहरु हुनुपर्नेमा त्यो सरेको हुनसक्छ । अर्थात अंगहरुमा नयाँ किसिमको गाँठो देखिनसक्छ । एमआरआईले त्यसको रंग परिवर्तन भएको कुरा पनि छर्लङ्ग देखाउँछ । यसबाट बिरामीमा कस्तो प्रकारको रोग छ भन्ने कुरा स्पष्ट पहिचान हुन्छ ।



कस्तो कस्तो अवस्थामा एमआरआई गर्नुपर्छ ?

हरेक प्रविधिहरुको आ—आफ्नै फाइदा र कमजोरीहरु हुन्छन् । यसले मांशपेशी, मस्तिष्क, स्पाइनल कर्डको रोगहरु राम्रोसँग देखाउँछ । स्नायु प्रणालीको रोग र ढाडको समस्या भएको शंका चिकित्सकले गरेको अवस्थामा एमआर आईका लागि सिफारिस गर्ने प्रचलन छ । यसैगरी घुँडालगायत शरीरका विभिन्न भागका जोर्नीहरुमा रोग भएको शंका भएमा पहिचानका लागि एमआर आई भरपर्दो प्रविधि मानिन्छ । छाति, पेटसम्बन्धि कतिपय रोग पहिचानका लागि पनि एमआरआई गर्न सकिन्छ । तर यस्ता ठाउँहरुमा सिटीस्क्यान अझ प्रभावकारी मानिन्छ ।

एमआरआईमा उपकरणको भूमिका कति धेरै हुन्छ ?

यसमा उपकरणले निकै ठूलो भूमिका खेल्छ । संसारभर पर्मानेन्ट म्याग्नेट र सुपर कन्डक्टिङ म्याग्नेट गरी दुई किसिमका उपकरण प्रचलनमा रहेका छन् । पर्मानेन्ट म्याग्नेट—फलामको ढिक्कालाई चुम्बकमा परिवर्तन गरिएको हुन्छ । यो पर्मानेन्ट हुन्छ र चुम्बककै माध्यमबाट एमआरआई गरिन्छ । यसमा म्याग्नेटहरुको स्ट्रेन्थ (शक्ति) कम हुन्छ । तर खर्च र मेन्टेनेन्सको दृष्टिकोणले यो सस्तो पर्छ । यसको मूल्य पनि कम हुन्छ । बिजुली कम खपत पर्ने भएकाले यो एमआरआई बढी प्रचलनमा छ । सुपर कन्डक्टिङ म्याग्नेट—यसमा विशेष किसिमको तारहरुबाट बिजुली प्रवाह गरिसकेपछि यसले म्याग्नेट क्रियट गर्छ । यसलाई सुपर कन्डक्टिङ म्याग्नेट टेक्नोलोजी भनिन्छ । यो प्रविधि महँगो छ । यसमा बिजुलीको प्रवाह निरन्तर हुनुपर्छ । यदि बिजुलीको प्रवाह निरन्तर नभएमा मेसिन नै पूर्णरुपमा बिग्रन्छ । त्यसैले नेपालजस्तो लोडसेडिङ हुने ठाउँमा यस किसिमको उपकरण अलि संवेदनशील मानिन्छ । लोडसेडिङको अन्त्य भएमा यस किसिमका सुपर कन्डक्टिङ म्याग्नेटहरु राख्न सकिन्छ । पर्मानेन्ट म्याग्नेटको तुलनामा यसको मर्मत खर्च धेरै हुन्छ । पर्मानेन्ट म्याग्नेटको तुलनामा सुपर कन्डक्टिङ म्याग्नेट तीन चार गुना महँगो पर्छ । मेन्टिनेन्स कठिनाइ छ । बिजुली निरन्तर आवश्यक पर्ने भएकाले म्याग्नेट चाँडै बिग्रनसक्ने संभावना हुन्छ । सुपर कन्डक्टिङ म्याग्नेटबाट एमआरआई गर्दा थोरै समयमा काम गर्न सकिन्छ र यसमा इमेजहरु राम्रो देखिन्छ ।

एमआरआईमा शत्प्रतिशत परिणाम सही हुनसक्ने संभावना कतिको रहन्छ ?

संसारमा रोग पत्ता लगाउने प्रविधि सबैको फाइदा र कमजोरी दुवै छन् । कुनै पनि प्रविधि पूर्ण छैन । त्यसैले केही प्रतिशत रोगीहरुमा डाक्टरले शंका गरेको विपरित अर्को परिणाम निस्कनसक्छ ।

यसरी परिणाम गलत नहोस् भनेर के कुरामा ध्यान राख्न जरुरी हुन्छ ?

यसका लागि रेडियोलोजी तालिम प्राप्त दक्ष जनशक्ति हुनुपर्छ र यसबारे प्रयाप्त ज्ञान हुन जरुरी छ । विदेशतिर रेडियोलोजीमा पनि सब स्पेशालिटी छ । जस्तो—मस्तिष्क छाति, पेट,हाडजोर्नी, मांशपेशी आदिका छुट्टा छुट्टै स्पेशलाईज गरेका रेडियोलोजिस्ट हुन्छन् । उनीहरु आ—आफ्नो विधामा विज्ञ हुन्छन् । नेपालमा पनि यस किसिमको व्यवस्था हुन जरुरी छ ।

उपकरणबाट निस्कने रेडिएसनले स्वास्थ्यलाई कतिको हानी गर्छ ?

यसमा कुन किसिमको प्रविधि प्रयोग गरेको छ भन्नेमा भर पर्छ । जस्तो एक्सरे र सिटीस्क्यानमा रेडिएसन (विकिरण) ले हानी गर्न सक्छ । यसैगरी रेडियोलोजीसँग सम्बन्धित न्यूक्लिएर मेडिसिनमा रेडियोएक्टिभ सब्स्टेन्सहरु शरीरभित्र एन्जेक्ट गरेर शरीरभित्रबाट इमेजहरु निकालिन्छ । यसैगरी पेट स्क्यानमा रेडियोएक्टिभ पदार्थहरु शरीरभित्र पठाएर इमेज निकालिन्छ । यसरी शरीरभित्र पठाउने रेडियोघर्मी पदार्थले शरीरलाई अवश्यै हानी पु¥याउन सक्छ । तर ज्यान खतरामा रहेको बिरामीलाई फाइदा र वेफाइदाकाबारे स्पष्ट बुझाउन सक्नुपर्छ । त्यसैले यसमा हानी भन्दा फाइदा बढी छ । रोग निदानका लागि प्रयोग हुने रेडिएसनबाट प्रतिशतमा क्यान्सर हुने संभावना र हन्छ । अल्ट्रासाउन्डबाट रेडिएसनबाट हुने हानी हुँदैन । यसैगरी एमआरआईमा पनि म्याग्नेट र रेडियोफ्रिक्वेन्सी प्रयोग हुने भएकाले यसमा रेडिएसनको हानी छैन ।

अहिले प्रचलनमा आएका एमआर आईका उपकरणहरु कस्ता छन् ?

नेपालमा धेरै पर्मानेन्ट म्याग्नेट टेक्नोलोजी छ । सुपर कन्डक्टिङ म्याग्नेट पनि भित्रिन थालेका छन् । पछिल्लो समयमा काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पताल र ग्रान्डी इन्टरनेशनल हस्पिटलमा सुपर कन्डक्टिङ म्याग्नेट प्रविधिको एमआरआईको सुविधा छ ।

रेडिएसनसँग खेल्ने चिकित्सक पनि जोखिममा हुने भएकाले उसले के—कस्तो सावधानी अपनाउन जरुरी पर्छ ?

एक वर्षमा निश्चित प्रतिशत रेडिएन भएमा यसले खासै हानी नगर्ने अन्तर्राष्ट्रिय मापदण्ड रहेको छ । यसैमा आधारित रहेर रेडियोलोजिस्टहरुले काम गरेका हुन्छन् ।

शरीरमा भएको रेडिएसन मापन गर्ने कुनै प्रविधि छ ?

रेडिएसन कर्मचारीलाई मोनिटरिङ डिभाइसेस लगाउनुपर्छ । यसले प्रत्येक महिना शरीरमा कति रेडिएसनको मात्रा प¥यो भन्ने कुरा थाहा लाग्छ । यसले अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुसार सुरक्षाको मापदण्डभित्र रेडिएसन पाएनपाएको थाहा लाग्छ ।

बिरामीले कस्तो सावधानी अपनाउनुपर्छ ?

आफूलाई चित्त नबुझेका र जान्न मन लागेका कुरा सोध्नुपर्छ । रेडिएसनको संसर्गमा आउँदा गर्भवती महिला र बालबालिकाले विशेष सावधानी अपनाउनुपर्छ । सानो उमेरमा रेडिएसनको संसर्गमा आउँदा पछि क्यान्सरलगायतका विभिन्न रगतसम्बन्धि रोग हुनसक्छ । गर्भरहेको बेला विशेषगरी पहिलो तनि महिनामा अति आवश्यक अवस्थामाबाहेक एक्सरे गर्नुपर्दा गर्भ रहेको जानकारी सम्बन्धित चिकित्सक र प्राविधिकलाई गराउनुपर्छ । जसले गर्दा उनीहरुले आवश्यक सावधानी अपनाउन सक्छन् । पेटको एक्सरे गर्न हुँदैन ।

अन्तमा यहाँको कुनै सुझाब छ ?

बिरामीलाई रेडिएसन दिँदा सही तरिकाले राख्नुपर्छ । एक्सरे गर्दा के कस्ता सावधानी अपनाउनुपर्ने भन्ने बारे बिरामीलाई स्पष्ट बताउनुपर्छ । शरीरको नचाहिने भागमा रेडिएसन प्रवाह गर्नहुँदैन । रेडिएसनसँग काम गर्ने प्राविधिक र चिकित्सकहरुले जनता, बिरामी तथा आफ्नो पनि सुरक्षाका लागि अन्तर्राष्ट्रिय प्रचलनमा रहेका नियम र सुरक्षा अवधारणहरु अपनाउनुपर्छ ।


No comments:

Post a Comment