Friday, July 18, 2014

प्रधानमन्त्री मंगलबार फर्कने



प्रधानमन्त्री सुशील कोइराला न्युयोर्कमा फोक्सोको क्यान्सरको उपचार गराएर मंगलबार नेपाल फिर्ने भएका छन्।

करिब ५ साता लामो अमेरिका बसाइपछि उनी मंगलबार नेपाल आइपुग्ने उनको साथमा रहेकी मृदुला कोइरालाले जानकारी गराएकी हुन्।

प्रधानमन्त्री कोइराला असार २ गते फोक्सोको क्यान्सरको उपचारका लागि अमेरिका गएका थिए। मृदुलाका अनुसार सोमबार उनी न्युयोर्कबाट नेपालतर्फ प्रस्थान गर्नेछन्। न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा पाँचपटक उनको रेडियोथेरापी गरिएको थियो। 

Actress Manisha Koirala with PM Sushil Koirala in USA


उनका अनुसार प्रधानमन्त्री साउन ६ गते मंगलबार साँझ ८ बजे नेपाल आइपुग्ने छन्। काठमाडौंबाट परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री र उनको टोली सदस्यहरुका लागि हवाईटिकट पठाइसकेको छ। मन्त्रालयले कोइराला टोलीलाई इत्तिहाद एयरलाइन्सको टिकटको व्यवस्था गरेको छ। कोइरालाका साथमा सहयोगी मृदुला, अंगरक्षक प्रकाश देउजा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. करवीरनाथ योगी छन्।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. योगीका अनुसार अहिले उनी पूर्ण तन्दुरुस्त भएका छन्। ‘उपचारपछि यस बीचमा आराम गरेर बस्नुभएको छ, स्वास्थ्यलाभ गरिरहनु भएको छ,’ उनले भने। मृदुलाका अनुसार प्रधानमन्त्री कोइराला नियमित हिँडडुल गर्ने र साविकबमोजिमको खाना खाने गरिरहेका छन्।

प्रधानमन्त्री कोइरालाले अर्को ३ महिनापछि पुनः उक्त अस्पतालमा फलोअप परीक्षण गराउनुपर्ने छ। प्रधानमन्त्री आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा भाग लिन पुनः अमेरिका जाने र त्यही बेला फलोअप परीक्षण गर्ने मनस्थितिमा रहेको बुझिएको छ।

No comments:

Post a Comment