Friday, September 20, 2013

बिरामीको ब्यापार गर्न पाइँदैन.............

डा. भगवान कोइराला
निर्देशक, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज /


जुन अस्पतालको नेतृत्व लिए पनि तपाईंमा रातारात सुधार गर्ने गुण छ भनिन्छ नि ?


ममा त्यस्तो केही विशेष गुण छैन । म एउटा राम्रो डाक्टर हुँ । व्यवस्थापनको विशेषज्ञ म होइन । व्यवस्थापन राम्रो गर्न सबैभन्दा प्रमुख कुरा भित्री इच्छा र त्यसका लागि अरूको सहयोग हुनुपर्छ । अस्पतालको व्यवस्थापन सुधारमा मैले पनि गरेको त्यही हो । व्यवस्थापनका लागि थोरै प्रशासनिक ज्ञान त हुनैपर्छ । भित्री मनदेखि नै संस्थालाई राम्रो गर्छु  भन्ने इच्छा र अरूको सकारात्मक सहयोग भयो भने सुधार गर्न सहज हुने रहेछ ।


घाटामा रहेको शिक्षण अस्पतालको स्थिति तपाईं आउने बित्तिकै कसरी सकारात्मक भएर गयो ?



म मुटुको राम्रो शल्य चिकित्सक हुँ । यसको क्रेडिबिलिटिले मलाई चिनाएको हो । त्यही क्रेडिबिलिटीले मलाई व्यवस्थापनमा पनि राम्रो गर्न प्रेरणा दिन्छ । म शिक्षण अस्पताल  आएको तीन महिना पनि पुगेको छैन । यो थोरै समयमा पनि परिवर्तनका केही सकारात्मक संकेत देखिएका छन । यसका लागि केही बोल्ड निर्णय पनि गर्नुप¥यो । अस्पतालमा लामो समयदेखि ओभरटाइम बापत धेरै रकम खर्च हुने गरेको रहेछ । मैले त्यसलाई खारेज गरिदिएँ । यो निर्णयले कतिपय चिढिएका पनि होलान् ।  मुख्य उद्देश्य संस्था राम्रो बनाउने हो । घाटामा गएको अस्पताल उकास्न मैले त्यो महत्वपूर्ण निर्णय लिनै पर्ने देखेँ । अहिले अधिकांश चिकित्सक र  कर्मचारीले खुसीसाथ सहयोग पनि गरिरहेका छन् ।


कतिपय अवस्थामा त ओभरटाइम बाध्यात्मक नै बन्ला नि ?


एकातिर तुलनात्मक रूपमा कर्मचारी धेरै छन् भने अर्कोतिर ओभरटाइमको नाममा लाखांै भार थपिएको रहेछ । अस्पताल आर्थिक हिसाबमा सक्षम भयो भने पुनः ओभरटाइमसम्बन्धी व्यवस्थालाई लागु गर्न सकिन्छ । पहिला संस्था त सबल हुनुप¥यो नि । नियमसम्मत ढंगले दिने अतिरिक्त भत्ता कायमै छ । तीन महिना पुरानो बाँकी तिरिसकिएको छ । नागरिक लगानी कोषमा जम्मा गर्नुपर्ने रकम गएको थिएन, त्यो जम्मा गरियो र कर तिरियो । म आएकै महिनादेखि कर्मचारीले समयमै तलब पाउन थालेका छन् ।


अस्पतालको आर्थिक अवस्था सुध्रिएछ, सेवातर्फ नि ?


सबैभन्दा महत्वपूर्ण कुरा नै सेवा हो । त्यसका लागि पहिला संस्था आर्थिक रूपमा सबल बन्नुपर्छ । यससँगै अस्पतालमा आम जनताको सहज पहुँच पनि हुनुप¥यो । भर्खरै हामीले मेडिसिन वार्डमा ३० शैया थप गरेका छौं । यसले गर्दा वार्ड विस्तार भएको छ । नयाँ शल्यकक्ष पनि थपिएको छ । आइसियु र सिसियु मर्ज गरी भेन्टिलेटरसमेत थप गरिएको छ । छिट्टै इएनटी र बर्थिङ सेन्टर पनि नयाँ ठाउँमा विस्तारित रुपमा सुरू हँुदैछन् ।  यी अधिकांश सेवा विस्तारका लागि पहिलेदेखि नै काम शुरु भएका थिए । अहिले आएर मैले पहल मात्र गरेको हुँ ।


आम जनताले अस्पतालको सेवा सुलभ ढंगले पाउनुपर्छ । ठूलो अस्पताल भएकोले यहाँ  आउने जाने धेरै हुन्छन् । उनीहरूको आवतजावतलाई सहज बनाउनु पर्छ । यहाँको आकस्मिक सेवा ठुलो छ । दोस्रो कुरा भएका सबै  विभाग र सेवालाई गुणस्तरीय बनाउनु पर्छ । यससँगै गुणस्तरीय उपकरण, काम गर्ने वातावरण, दक्ष जनशक्ति पनि हुनुपर्छ ।


तेस्रो कुरा गरिब बिरामीका लागि आर्थिक सहुलियतसमेत हुनुपर्छ । त्यसैले हामीले अस्पतालको राहत रकम घटाएका छैनौं । बरु त्यसलाई कानुनतः व्यवस्थित गरिएको छ । यसका लागि उपचार सहायता कोष बनाएर वस्तुनिष्ठ राहत वितरणको व्यवस्था गरिएको छ । यसले अस्पतालको आम्दानीमा कुनै प्रभाव नपरोस् भनेर कोषमा फण्ड जुटाउनका लागि काम गर्नुपर्छ । यसले राहत पनि दिगो हुन्छ ।  हामीले फार्मेसीमा पनि व्यवस्थापन सुधार गरेका छौं । निःशुल्क रूपमा बाँड्ने औषधिलाई नियमन गर्ने प्रयास गरिएको छ । औषधि निःशुल्क दिनलाई फार्मेसीलाई मजबुत पार्नुपर्ने हुन्छ । अर्कोतिर निःशुल्क बेड र औषधि घटाइएको छैन । त्यसलाई व्यवस्थित गरी कानुन आधार टेकेर मात्रै दिने व्यवस्था मिलाइएको छ ।


हामी अस्पतालको बेरुजु शुन्यमा झार्ने प्रयासमा छौं । नियमको अक्षरशः पालना गर्ने हो भने वेरुजुको समस्या आउँदैन । सबैले सहयोग गर्ने हो भने बेरुजु नै आउँदैन ।


निर्देशक भएपछि अस्पतालको वातावरण चाँहि कस्तो पाउनुभयो ?


अस्पतालबारे बाहिर जुन किसिमका हल्ला थिए, त्यस्तो नाजुक अवस्था रहेनछ । यहाँ आएपछि मैले सोचेभन्दा राम्रो अवस्था र सहयोग पाएँ । अहिले धेरै नयाँ काम भइरहेका छन् । केही कुरा चाहिँ व्यवस्थापन गर्न सकिएको रहेनछ, ती सबै कुरा मिलाउनमै मेरो ध्यान केन्द्रित छ । बहुसंख्यक कर्मचारी र विभागले ‘जेन्युन्ली’ काम गर्ने इच्छा देखाएका छन् । काम गर्न चाहनेले पनि उपयुक्त वातावरण नपाएर काम गर्न नसकेको पनि हुनसक्छ । नेतृत्वले काम गर्ने वातावरण तयार गरिदिने हो । अस्पताल प्रसाशनमा केही कर्मचारी संख्या बढी नै छ । यो संख्या घटाउनेभन्दा काममा लगाउन सक्ने हो भने संस्थालाई फाइदा नै हुन्छ । तर, अनावश्यक कर्मचारी भने पालिरहनु हुँदैन ।

तपाईको अस्पताल सुधार अभियानमा राजनीतिक हस्तक्षेप छ कि छैन ?


पहिला अस्पतालमा राजनीतिक दबाव थियो तर अहिले छैन । ठूलो संस्थामा सानातिना असन्तुष्टि त आउँछन् नै । संस्थाको हित सोचेर सकारात्मक ढंगले काम गर्दै नियम अनुसार  चलेपछि यस्ता कुराले फरक पार्दैन ।


त्यसो भए, अहिले तपाईंलाई राजनीतिक क्षेत्रबाट पनि सहयोग छ ?


मैले गंगालाललाई सफलताको चुचुरोमा पु¥याउँदा कतिपयले इष्र्या गरेर गंगालाल छाड भन्थे । पदमा बसेपछि त राजनीतिक प्रेसर आउँछ नै । सार्वंजनिक संस्थामा धेरैका थुप्रै स्वार्थ जोडिएका हुनसक्छन् । तर स्वार्थ हेर्नेले यस्ता संस्थामा बसेर केही गर्न सक्दैन । सानातिना अबरोध आएपनि मैले जनताको स्वार्थलाई प्राथमिकतामा राखेर काम गरेको हुन्छु । म छउन्जेल संस्थाको हितभन्दा बाहिर गएर काम गर्दिनँ र हुन पनि दिन्नँ । नेतादेखि  पेशाकर्मीसमेतले पहिला राजनीतिलाई केन्द्रमा राख्ने गरेका छन् । तर, केन्द्रमा सेवालाई राख्नुपर्छ । राजनीति संस्थाभित्र होइन, बाहिर गएर गर्नुपर्छ । अस्पताल जनताको हो र जनताकै रहनुुपर्छ ।


अधिकांश सरकारी अस्पताल राजनीतिले बिगारेको टिप्पणी भइरहेको बेला यो अस्पताल मात्रै कसरी अछुतो रह्यो त ?

धेरै हदसम्म चरम राजनीतिकरणले सरकारी अस्पताल बिग्रिएको कुरा सत्य पनि हो । अस्पतालका पदाधिकारी र कर्मचारी आफैं राजनीतिक रुपमा प्रस्तुत भए भने समस्या झन थपिन्छ । अस्पताल भित्र दलको प्रतिनिधत्व गर्नेलाई त समस्या पनि आउँछ । सार्वजनिक संस्थाको नेतृत्वकर्ता जहिले पनि गैरराजनीतिक हिसाबले प्रस्तुत हुनुपर्छ । उसको पहिलो सोचाइ जनताको सेवा हुनुपर्छ, न कि दलको । अहिले अस्पतालमा राजनीति घुसाउन केही व्यक्ति लागिपरेका पनि छन् । बहुमत चाहिँ अस्पतालको विकासकै पक्षमा छ ।


अन्य कतिपय सरकारी अस्पतालको हालत देख्दा त्यसलाई पनि सुधार्न पाए हुन्थ्यो जस्तो लाग्दैन ?


राजधानी बाहिर गएको समयमा कतिपय सरकारी अस्पतालको अवस्था देख्दा विरक्त लागेर आउँछ । हैसियतभन्दा माथि सोचेर पनि त भएन । सबै अस्पताल मैले सुधार गर्न पनि कहाँ सक्छु र । सरकारी अस्पतालको अवस्था पनि पहिलाको तुलनामा राम्रो हुँदै गएको छ । तर, प्रगतिको रफ्तार कम छ भन्ने मात्रै हो ।


सरकारी अस्पतालको अवस्था खस्किएकोले निजी क्षेत्र धेरै फस्टाएको हो ?


स्वास्थ्यमा निजी क्षेत्र तीव्र रूपमा फस्टाएको छ । निजी क्षेत्रको आगमनले सेवाको गुणस्तर पनि बढेको छ । तर, निजीलाई हेरेर सरकारीलाई अवमूल्यन गर्न मिल्दैन । सरकारीमा पनि धेरै काम भएका छन् । सरकारीमा जुन रुपमा विकास हुनुपर्ने हो, त्यो नहुँदा निजीले खेल्न पाएका हुन् । सरकारी संस्थामा मात्र होइन, निजीमा पनि भ्रष्टाचार र अनियमतिता छ । मलाई त सरकारीमा भन्दा बढी वेथिति निजीमा छ कि जस्तो लाग्छ ।


निजीले सेवाभन्दा बिकृति बढी जन्माएको आरोप छ नि ?


केही निजी अस्पतालले इथिक्स बाहिर गएर काम गरेका छन् । तर सबैले नराम्रो गरेका छन् भन्न मिल्दैन । निजीले पक्कै पनि बढी शुल्क लिएका छन् तर त्यससँगै गुणस्तरीय सेवा पनि त दिएका छन नि । अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा विस्तार गर्दै लाने हो भने स्वाभाविक रूपमा शुल्क पनि बढ्दै जान्छ । यो अवस्थामा सरकारले बिमामार्फत सेवालाई सुलभ र पहुँचयोग्य बनाउने नीति ल्याउनुपर्छ । अहिले त एउटा रोग लाग्यो भने जीवनभरको कमाई सकिने अवस्था छ ।
सार्वजनिक क्षेत्रले राम्रो सेवा दिने हो भने निजी अस्पतालका धेरै विकृति पनि घटेर जान्छन् । अर्को कुरा सरकारले निजी क्षेत्रको नियमन र अनुगमन पनि कडाइका साथ गर्नुपर्छ ।


स्वास्थ्यका विकृतिमा चिकित्सक कति दोषी देख्नुहुन्छ ?


यस क्षेत्रका विकृतिमा सबै जिम्मेवार छन् । त्यसमा चिकित्सक पनि भागीदार छन् । तर चिकित्सकलाई मात्र दोष दिन पनि मिल्दैन । चिकित्सकको गुणस्तर मापन गर्ने प्रणाली भएको भए उनीहरू बढी जिम्मेवार हुन्थे । मुलुकको कुल शैयाको दुई तिहाइ निजी क्षेत्रसँग छ । त्यसलाई सरकारले अनुगमन गर्न सकेको छैन । हेल्थ फाइनान्सिङको मोड्यालिटीले पनि अफ्टेरो पारेको छ । मानिस बिरामी हुँदा दुई तिहाई खर्च आफ्नो खल्तीबाट गर्नुपर्छ ।  सरकारी अस्पतालमासमेत पैसा तिर्नु परिरहेको छ । सरकारले सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा निशुल्क गर्नुपर्छ । यसका लागि सेवा प्रदायक संस्था बलियो बनाएर बीमामा जानुपर्छ । अर्कोकुरा गुणस्तर कायम गर्न अस्पताल प्रमाणीकरण (एक्रिडिएसन) गर्ने व्यवस्था गर्नुपर्छ ।


सरकारी अस्पतालबाट नियतवश निजीमा बिरामी पठाइनाले पनि निजी क्षेत्र फस्टाइरहेको भनिन्छ नि ?


सरकारी क्षेत्रबाट हचुवामा रेफर गर्ने चलन छ । यसलाई सुधार गरी मापदण्ड बनाएर मात्र  रेफर गर्ने प्रणाली विकास गर्नुपर्छ । यदि सरकारी अस्पतालमा त्यस्तो सेवा र शैया खाली छैन भने मात्र बिरामी रेफर हुनुपर्छ । झेल गरेर विरामी अन्यन्त्र पठाइनु हँुदैन । कमिसन आउँछ भनेर बिरामीको व्यापार गर्न पाइँदैन । कतिपय अस्पताल त मरणाशन्न अवस्थाका बिरामीबाट पैसा कमाउने उद्देश्यले पनि खुलेका छन् । स्वास्थ्यमा सरकारले फेल खाए निजीले पनि सफर गर्नुपर्छ ।

अस्पताल राम्रो बनाउन लगानी र व्यवस्थापन कुन महत्वपूर्ण हुन्छ ?


कुनै पनि संस्था राम्रो रूपमा सञ्चालन गर्न लगानी, मानसिकता र व्यवस्थापनजस्ता तीनवटा कुराले प्रभाव पार्छ । यसमा सबैभन्दा सजिलो पैसा हो । सबैभन्दा मिलाउन अप्ठेरो चाहिँ मानसिकता हो । मानसिकता सकारात्मक बनाउन सकेमा अरू विस्तारै सहज हुँदै जान्छन् ।


तपार्इं नामी चिकित्सक पनि हुनुहुन्छ, तपार्इंकै लागि भन्दै बिरामी कुरेर बसेका हुन्छन् । अहिले बिरामी र अस्पतालको व्यवस्थापन कसरी गरिरहनु भएको छ  ?


सरकारी समय सीमाभित्र सबै काम गर्न कुनै हालतमा पनि सकिँदैन । ९ बजेदेखि ५ बजेसम्म प्रशासनिक काम मात्रै पनि टुंग्याउन सकिन्न भने यो समयभित्रै बिरामी हेर्नु असम्भव नै हो । यद्दपि मैले निर्देशक हुनुभन्दा पहिला जति बिरामी हेर्थें वा शल्यक्रिया गर्थें त्यसमा एउटा पनि कमी आएको छैन । पहिला आराम र परिवारका लागि दिएको समय अहिले पूरै संस्थाको लागि लगाएको छु ।  कहिलेकाहिँ त राति ११ बजेसम्म अस्पतालमै काम गर्नुपर्ने हुन्छ ।


शिक्षण अस्पताललाई कस्तो बनाउने सपना देख्नु भएको छ ?


शिक्षण अस्पताल संकटमा परेको भन्दै मलाई व्यवस्थापन गरिदिन भनेर विशेष आग्रह आएपछि मात्रै म निर्देशक हुन अग्रसर भएको हुँ । इच्छा नहुँदा नहुँदै पनि म निर्देशक भएको थिएँ । अब त्यसो भनेर बसिरहन मिल्दैन । जिम्मेवारी सम्हालेपछि मैले पूर्ण रुपमा प्रतिबद्ध भएर संस्थाको विकासमा लाग्नुपर्छ । अस्पताललाई एउटा सही प्रणालीमा विकास गर्ने मेरो सपना छ ।

No comments:

Post a Comment