Sunday, June 29, 2014

ग्राण्डीमा जोडियो छिनिएको हात



समिल (काठ चिर्ने मिल)मा काम गर्ने क्रममा आराले च्वाट्टै छिनाएको हात ग्राण्डी अस्पतालमा सफलतापूर्वक जोडिएको छ । गोरखाका २८ वर्षीय मानबहादुर सुनारको छिनिएको हात १२ घण्टाको शल्यक्रियाबाट जोडिएको अस्पतालले जनाएको छ । सुनारको हातलाई आइससहित प्लाष्टिकको ब्यागमा राखेर अस्पताल ल्याइपु¥याइएको थियो । अस्पतालका प्लाष्टिक सर्जन डा. जयनमान श्रेष्ठ, अर्थोपेडिक सर्जन डा. भाष्करराज पन्त, प्लाष्टिक सर्जन डा. ज्योति अधिकारी र एनेष्थेसिस्ट डा.अर्चन अधिकारीको टोलीले शल्यक्रिया गरेको हो । यही ११ असारमा दुर्घटनामा परेका सुनारलाई ६ घण्टापछि अस्पताल ल्याइपु¥याइएको थियो । सोही दिन साँझ ५ बजे सुरु गरिएको शल्यक्रिया १२ असारको बिहान ४ बजेसम्म चलेको थियो । अस्पताल ल्याइपु¥याउने बित्तिकै तत्काल अपरेशन थियटरमा पु¥याइएका सुनारको हड्डी, रक्तनली, कोषिकाहरु र मांसपेशीलाई यथास्थानमा राखेर शल्यक्रिया गरिएको थियो । बिरामीको हात चल्न थालेको र रक्तप्रवाह पनि हुन थालेको अस्पतालले जनाएको छ । यस्तो शल्यक्रिया यसअघि शिक्षण अस्पताल, मनिपाल शिक्षण अस्पताल पोखरा र चितवन मेडिकल कलेजमा भएको थियो । यस किसिमको छिनिएको हात जोडिएको शल्यक्रिया नेपालमा चौथो उदाहरण हो ।


No comments:

Post a Comment